पन्ध्र शिवनारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगिहाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै टोलाएटोलाए जस्तो हुँदै उनी आखिरमा तानकोठामा प्रवेश गरिन् । त्यहाँ नानीथकुं अगाडिदेखि नै पुगेर तान चलाउन लागिसकेकी थिइन् । लतमायाले पुन्चाकी स्वास्नीलाई हाँसेजस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एकछिन टोलाएझैं उभिई तानको आसनमा बसिन् ।
तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसिरहेको देखेर नानीथकुंले सोधिन्- "किन आमा ! आज तपाईं दिक्क जस्तो हुनुहुन्छ ?"
"खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् ।
यत्तिकैमा भर्याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र नानीथकुं दुवैले भर्याङतिर आएको आवाजप्रति उत्सुकतासाथ ध्यान दिएर हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर रामबहादुर उक्लेका देखिए ।
रामबहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने- "हिजो मैले भनेको तान यही हो । हेर, कति मज्जाको छ ।"
"अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् ।