पाँच डाक्टर गइसकेपछि आफ्नो परिवारका सबै सदस्य जम्मा भएको बेला बिरामी अष्टनारान नसकीनसकी बोले- "होइन, तिमीहरूले मलाई यो धूमधामसँग किन औषधी गर्न लागेको ? म कुनै बालक अथवा युवक पनि त होइन, पूरा आयु पुगिसकेको गरिब घरको बुढो बिरामी हुँदा डाक्टरलाई देखाएर ऋण लिईलिई यसरी खर्च गर्नु बुद्धिमानी होइन । आमाबाबुउपर छोराछोरीले श्रद्धाभक्ति गर्नैपर्छ, यो तिमीहरूले दिलैदेखि गरेको देखिहालेँ, यत्तिकैमा मलाई सन्तोष छ । जिन्दगी यस्तै हो, आखिरमा एक दिन सबैले जानैपर्छ । बा, बाजे, बडाबाजेहरू जस्तै म पनि मरुँला, के भयो, यो हाम्रा निम्ति परम्परै हो । त्यसैले बाबूहो ! मेरो कुरा सुन, डाक्टरलाई देखाएर नचाहिँदो ऋण नबोक ।
कसैले केही जबाफ नदिएको देखेर अष्टनारान फेरि बोले- "के मैले बोलेको कुरा तिमीहरूलाई चित्त बुझेन ?"
शिवनारानले भने- "डाक्टरले चाँडै निको हुन्छ भनेका छन् बा ! केही पनि भएको छैन रे, खालि पेटको सिकायत रे, मामुली ओखतीले नै ठीक हुन्छ भनेका छन् । पैसा पनि धेरै खर्च हुँदैन ।"
अष्टनारानले सम्झाएको भावमा भने- "हाम्रा निम्ति थोरै नै धेरै छ बाबू ! भोकले मर्न लागेको गरिबका लागि दुई पैसा थोरै छैन । डाक्टरी औषधी गर्नु भनेको हामी गरिबका निम्ति ठट्टाको कुरा त होइन ।"