हाले- "डाक्टरसाहेब बाबु सिकिस्त हुनुहुन्छ, ढिलो गर्न भएन डाक्टरसाहेब !"
शिवनारानतिर पुलुक्क दृष्टिपात गरेर डाक्टरले केवल यति बोले- "अँ ।"
डाक्टरको यो निठुरी व्यवहार देखेर शिवनारानलाई एकछिन त ‘डाक्टरलाई मारिहालूँ’ भन्ने झोंक चलिसकेको थियो तर डाक्टरसित रिसाउन सक्ने अवस्था पनि त शिवनारानको थिएन । बाबु सिकिस्त छन्, आफू एक दीनहीन, अरूको निगाह र मद्दत नै उनको जीवन थियो; त्यसैले रिसमा पनि होस राख्न सक्ने बुद्धिमानी पनि उनको प्रवृत्तिमा दौडिरहन्थ्यो । त्यसैले रिसलाई दबाएर शिवनारानले डाक्टर गोदत्तप्रसादसित फेरि अनुरोध गरे- "डाक्टरसाहेब ! आधा घण्टा भैसक्यो म आएको… "
"एकछिनपछि एक घण्टा पनि हुन्छ । तिमीलाई चाहियो भनेर के समय पर्खिरहन सक्छ ?" डाक्टर गोदत्तप्रसादले तिरस्कारको भावमा भने ।
"बाबु साह्रै सिकिस्त हुनुहुन्छ डाक्टरसाहेब !"
"ज्यादै बिरामी भएपछि सबै सिकिस्त हुन्छन् ।"
"के गर्ने त डाक्टरसाहेब ! साह्रै चिन्तामा छु, सिकिस्त बिरामी मानिसलाई छोडेर आएको !"
"पख, कचकच नगर, किताब हेरिरहेको छु, ध्यान खलबल नगर ।" डाक्टरको व्यवहारमा भयङ्कर अमानवता देखेर चिन्ताग्रस्त भएर पनि शिवनारान नहडबडाईकन टोलाइमा वाल्ल परेर डाक्टरमा मानवता पर्खन लागे ।