This page has not been proofread
"गुभाजुसुभाजु यस्तै अरू नै कसैलाई देखाए पनि त हुन्छ नि ! तिनीहरूलाई देखाएको भए किफायत पनि पर्थ्यो । फिस पनि धेरै दिनु पर्दैनथ्यो । मलाई त फिस दिनुपर्छ, तिमीहरूलाई मुस्किल पर्ला । डाक्टर त देखाउन खोज्यौ ।" डाक्टर गोदत्तप्रसादले प्रस्टै भने ।
"डाक्टरसाहेबलाई नै देखाउन चाहेका छौं, डाक्टरसाहेबले हेरिदिनुभयो भने बालाई तुरुन्तै आराम होला भन्ने हामीले आशा गरेका छौं ।" शिवनारानले आशाजनक भावमा भने ।
"त्यसो भए फिस पाँच रुपियाँ यहीँ दिइहाल न त, मेरो यस्तै दस्तुर छ ।"
"यहाँ त रुपियाँ लिएर आएको छैन डाक्टरसाहेब ! हडबडमा दगुरेर आएको, घर पुग्नासाथ टक्याउँला ।" शिवनारानले भने ।
"हो ?"
"हो, डाक्टरसाहेब !"
"त्यसो भए लौ हिँडौं त ।"