Jump to content

Page:Ritubichar.pdf/56

From Nepali Proofreaders
Revision as of 09:28, 9 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread


लम्तन्न भै निदायेको बडो आनन्दमा परी।
औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी।।


बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी।
व्युत्थानकलनाद्वारा संयमीको मनैसरी।।


विचार गर्दा उसको न रेखा छ न रङ्ग छ।
ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ।।


भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर।
मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर।।


शीतरेखा जमेको छ उसमा भित्र बेसरी।
सङ्कल्पशक्तिका साथ संसारमहिमासरी।।


चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर।
हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र।।


विचित्र जादूगरका जादूको शक्तिले सरी।
एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी।।


कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर।
दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर।।


न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको।
भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको।।