This page has not been proofread
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी।
झल्कन्छ कल्पनाशून्य योगीको हृदयैसरी।।
रातमा झल्कने ज्यादा ठूला साना हिरासरी।
तारा झिलिझिली गर्छन् त्यो नीलगगनैभरी।।
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी।
तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी।।
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी।
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरीथरी।।
झल्कन्छ राति आकाश ती ताराहरुले गरी।
योगीका सुखशय्याको कार्चोपी चाँदनीसरी।।
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन।
सच्चा अमृतका टुक्रा कमबेसी थिये कुन?।।
शान्त भै ठाममा आये ठूला नदनदी सब।
सबैको अस्थिरै हुन्छ उर्लंदो वेगवैभव।।
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी।
जवानीको कडा माद दौडन्छ बिजुलीसरी।।
वर्षाका जोरले मात्र उर्लेका खहरे जती।
छोडी आडम्बरी फूर्ति बन्न थाले बकव्रती।।