This page has not been proofread
नाचे पुच्छर हल्लाई बोली फेरि चिभेचरी।
वियोगिनी निभायेका कालका दूतिकासरी।।
झर्नाले शिरको सारा भुवा सारौं कठैबरी
मुडुला भै घुमेका छन् मानू क्षपणकैसरी।।
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरीथरी।
अप्सराले खसालेका रत्नका हारको सरी।।
गर्मीरूपी बडो तेजी अल्झेको मेघपाशले।
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले?।।
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती।
उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती।।
लाम्खुट्टे रोकनालाई मेघरूपी ठुलो झुल।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल?।।
घूमघाम अघी हुन्थ्यो बीचमा खालि घाम भो।
अहिले घूमको काम, घूमघाम तमाम भो।।
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी।
पन्नाको कान्ति झल्कन्छ ईँट पत्थरमा पनि।।
बिझाउने बडा ठाडा देखदा बाँसका मुना।
गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना।।