This page has not been proofread
लम्तन्न भै निदायेको बडो आनन्दमा परी। औंलाको प्रतिमातुल्य कुइरो हुन्छ त्यो घरी।। १६ बालसूर्यप्रभाले त्यो फुस्स फुस्कन्छ सुस्तरी। व्युत्थानकलनाद्वारा संयमीको मनैसरी।। १७ विचार गर्दा उसको न रेखा छ न रङ्ग छ। ब्रह्ममा विश्व झैं खाली भ्रान्तिको त्यो तरङ्ग छ।। १८ भित्र अत्यन्त निःसार फुस्स आकार बाहिर। मायाजञ्जाल झैं हुस्सू लठारिन्छ सबैतिर।। १९ शीतरेखा जमेको छ उसमा भित्र बेसरी। सङ्कल्पशक्तिका साथ संसारमहिमासरी।। २० चोटा कोठा सबै चाली पुग्छ सुस्त सबैतिर। हुस्सू भये पनी नाम, काम हुस्सू कहाँ छ र।। २१ विचित्र जादूगरका जादूको शक्तिले सरी। एकै डल्लो गरिदिन्छ उसले दृष्टिमाधुरी।। २२ कुइराको कडा पर्दा लर्कँदा त्यो सबैतिर। दृष्टिको ज्योति जाँदैन बित्ताभर पनी पर।। २३ न पक्षीको कुनै शब्द, न प्रभा दिननाथको। भेद छुट्ट्याउनै गाह्रो रातको न प्रभातको।। २४