This page has not been proofread
कोइलीको मिठो बोली बिलायो कालले गरी। भ्यागुताको रुखो शब्द बढेको छ घरी घरी।। ७० अगाध सिन्धुमा चुप्पै चल्छन् तिमितिमिङ्गिल। भ्यागुतो खूप गर्जन्छ पाउँदा धमिलो भल।। ७१ भ्यागुताको जहाँ वास वहीं कमल फुल्दछ। तर त्यो चाल पाउन्न हिलैमा मात्र भुल्दछ।। ७२ कहाँ तुच्छ हिलो तेस्तो, कहाँ कमलको रस। दुर्भाग्यले हिलैमा छ बिचरो भ्यागुतो खुश।। ७३ संसार यो हिलो सारा पद्मको रस मुक्ति हो। जीव छन् भ्यागुतातुल्य पद्म ईश्वरभक्ति हो।। ७४ अँध्यारा रातमा सुन्दा वर्षाको झम्झमावट। परमाऽऽनन्दका ढोका स्वयं खुल्छन् खटाखट।। ७५ मानू स्वर्गीय सङ्गीतकलाको दिव्य माधुरी। वर्षन्छ जलधाराको साथैमा त्यो थरीथरी।। ७६ आकाशगृहमा काली बुढिया मेघमालिका। घुम्दछे रातमा बाली बिजुलीमय दीपिका।। ७७ खेतमा जलका धारा वर्षंदाखेरि बाहिर। उर्लन्छ खेतिवालाका मनमा सुखसागर।। ७८