This page has not been proofread
श्री श्रीगौरी-शङ्कराभ्यान्नम: अथ वसन्त-विचार
१ हिमालमा गयो जाडो लोक साऽऽनन्द देखियो। उदायो रसिलो राम्रो ऋतुराज वसन्त यो।।
२ नामशेष भयो सारा पुरानू शिशिरस्थिति। लियो वसन्तले अर्कै नयाँ गौरवपद्धति।।
३ ऋतु हुन् अरु पाँचोटा, वसन्त ऋतुराज हो। लोक गौरवले भर्नु यसैको मुख्य काज हो।।
४ वसन्तमा समानै छन् ठण्डी गर्मी दुवै गुण। तुल्य तुल्य दया दण्ड राजाका हुन् विभूषण।।
५ देखिन्छ नाऽतिशीतोष्ण महिमा ऋतुराजको। दयादण्डज्ञ राजाको नीति झैँ राजकाजको।।
६ पशुपक्षी लतावृक्षलगायत चराचर। ऋतुनायकको गर्छ प्रेमले स्वाऽऽगताऽऽदर।।