अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,
बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी ।
कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्यो
पसु की फूल झैँ सुकेर गइन् आँसु नै बर्सन्थ्यो ।
लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसार
कोठामा सुत्ता तकिया भिज्थ्यो चिन्ताले हजार,
ती दिन लामा, ती रात लामा, ती दिन उदासी ।
अँध्यारा रात, उज्याला रात जून नै उदासी ।
झ्यालमा आँसु मुनाको मन चिन्ताको आहारा ।
स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ,
एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ ।
चिन्ताले लाखाँ लाग्दैन आँखा सपना प्यारो छ,
सपनाभित्र उनलाई देखे उठ्न नै गार्हो छ ।
सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्,
दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन् ।
बतासले दार्हा किटेृर टोक्थ्यो साँझमा मुटुलाई
भोटेली पोशाक दोचा र भुत्ले टोपीले उनलाई,
सुकुटी चिया भेडाको धुली चौरी दुध गट्टाले
बचाए बल्ल क्या कष्ट पाए बाटामा पठ्ठाले ।
प्रकृति देवी मानिसप्रति क्रूर र निठुरी
भएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी ।
उब्जनी छैन, खानलाई छैन, प्यून नदारत,
बल्ल र तल्ल सँभाली सामल
नेपाली साँघु भोटेको त्यो दल-
सँगमा मदन जिनतिन चले कष्टको कडा पथ ।
अनेक दुःख बाटामा सही देखेर उदेक
एक मैन्हापछि मदन पुगे ह्लासाको नजीक ।