This page has been proofread
भोलिपल्ट शिव नारानहरूका लास बग्दै क्वेनामा जम्मा भइ रहे । त्यहाँ अरू पनि धेरै मानिसका लास जम्मा भइ रहेका छन् । मानिसका लासहरूका साथसाथै गाई, गोरु, भैँसी, बाख्रा आदिका लास पनि सँगसँगै छन् । हिजो बाढीले बगाएका र हराएका मानिसहरूका हकवालाहरू आई क्वेनामा लासको थुप्रो छानि रहेका छन् । चिनिएका जति लास अलग अलग राखी कति मानिसहरू छाती पिटी पिटीकन रोइ रहेका छन् ।
परन्तु शिव नारान, हाकुमाया र दुई बाल बालिका यी चार लासको हकवाला कोही निस्केन, यी चारै लासहरू बेवारिस छन् ।
भोलिपल्ट उनीहरूको घरको भग्नावशेषबाट पुन नारान, हर्ष नारान, पुतली र लतमायाका लासहरू पनि निकालिए । उनीहरूको यस्तो हृदय विदारक मृत्यु देखेर सारा मानिसहरू शोक प्रकट गर्दै थिए । सबैको घर बनाउने सिकर्मी र बिचरा ज्यामीहरू घर मर्मत गर्न नपाई आज आफ्नै घरले थिचिएर एक चिहान भए !