अट्ठाइस
आज शिव नारानको घरमा विवाहको आनन्द आइ रहेको छ, उमङ्गले जुहारी खेलि रहेको छ, प्रफुल्लताले अट्टहास गरि रहेको छ । हुन त आज पनि उनको घरभित्र पानी चुहि रहेको छ, चर्केको, मर्केको बढ्दै छ, यद्यपि आज उनको घर, उनको छाप्रो अन्त्यन्तै खुसी देखिन्छ, एउटा हाँसि रहेको महल खडा भइ रहे झैँ आज उनको घरले भव्यता प्रदान गरि रहेको छ । हर्ष नारानकी नववधूलाई स्वागत गर्न उनको घरको आकाश उत्सुक भइ रहेको देखिन्छ ।
शिव नारान, हाकुमायाहरू पनि एकाबिहानै खेतबाट आज घर आए । घरका थकाली शिव नारान भए तापनि आजका नायक हर्ष नारान नै बनि रहेका छन् । घरका परिवार मात्र होइन छरछिमेकीहरूले पनि आज हर्ष नारानको हिँडाइ फिराइ, बसउठ, रूपरङ, बोली वचन, चालढाल एक एक कुरा बडो चाख लाएर हेरि रहेका छन् ।
दुलही ल्याउने समय बेलुकातिर निधो भयो । कसरी ल्याउने, कुन विधि उपयोग गर्ने ? यस कुराको पनि घरमा निकै छलफल भयो । 'कम से कम अरू थोक केही बन्दोबस्त नभए पनि डोलीमा राखेरसम्म त अवश्य ल्याउनु पर्छ । ढोकामा डोली अड्याएर उनलाई भित्र्याउँदा गरिने पूजा सत्कार इत्यादि विधि विधानसम्म त कसरी नगर्ने । दुई दिनको पाहुना घरमा भित्रि रहेकी त होइन । घर गर्ने, कुल थाम्ने, समाज फलाउने, सृष्टि हँसाउने तथा हर्ष नारानको जिन्दगी रसाएर सामाजिक परम्परा फुलाउने एउटा जिम्मेवार