Jump to content

Page:Ek chihan.pdf/98

From Nepali Proofreaders
Revision as of 16:07, 23 June 2025 by Rbn (talk | contribs) (Proofread)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been proofread

छब्बिस

आज भर्खर जेठको १५ गते, तर यस पालि बर्सात् खुब भइ रहेकाले जेठ १५ गते भित्रै पनि धेरैको असार सिद्धि सकेको छ । यस पालि असार राम्रो हुने देखेर किसानहरू बिघ्नै खुसी छन् । शिव नारानको खेतमा त झन् एक हप्ता अगाडिदेखि नै रोपाइँ सिद्धि सकेकाले, उनको परिवार त झन् विजेता झैँ प्रफुल्ल भएर फुलि रहेको छ । तर रोपाइँको समाप्तिले सुख प्राप्त भए पनि उनीहरूलाई कुनै कुराले दुःख पनि भइ रहेको छ । वर्षा अत्यन्त प्रिय भएर पनि त्यसदेखि उनीहरूलाई डर भइ रहेको छ । यसको कारण हो उनीहरूको घर थोत्रो छ; भत्कि हाल्ला, खसि हाल्लाको अवस्थामा पुगि सकेको छ । अलिकति पानी पर्‍यो कि त दुई तलासम्म चुहुने भइ सकेको छ । अलि बढ्ता बतास आयो कि क्यार्रकुर्र आवाज आउन थालि सकेको छ । यस कारण पानी परेको, बतास आएको दिन शिव नारानको परिवारका प्रत्येक सदस्य डरले त्राहिमाम् हुन्थे ।

रोपाइँ सकेदेखि शिव नारान खेतमा खान्थे, सुत्थे । शिव नारान माचाछी[1] बाहेक अरू बाँकी परिवार मात्र घरमा खान्थे, सुत्थे । आज घरमा भात खाइ रहँदा पनि वर्षा भइ रहेकाले पानी चुहि रहेको थियो, सबै सँगै भात खाइ रहेका थिए । भात खाँदै लतमायाले पुन नारानतिर हेरेर भनिन्– "खाइ नखाइ गरेर पनि यस पालि त घर एउटा बनाउने कोसिस गर बाबु ! मलाई

  1. जोईपोइ बच्चाच्चीको एकसरो परिवार मात्र (नेवारी शब्द) ।