थिए, तिनीहरुलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ, अरुको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई सधैं पूर्णिमा जस्तै छन् । हामी उन्नतिशीललाई पनि बुझ्दैनौं, उन्नतिलाई पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं । साहित्य र कविता हामीलाई कथेको कथनी–पथनीभन्दा केही ज्यादा मोल राख्ने चिजजस्तो लाग्दैन । हामीहरुमा भावुक प्रशंसाको मात्रा नै छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको हजार रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाशून्य छन् । हामीहरु औत्सविक कविताहरुमा रुचि देखाउँछौ र पैसा तिर्न पनि खोज्दछौं, मिथ्या पोषणमै हामीहरु दगुर्दछौं । तर सत्यका अनुहार हामीहरुलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य छुट्याउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ याद हुँदैन ।
चिन्नेलाई आँखा भनिन्छ, बुझ्नेलाई मगज, सुन्नेलाई कान र भावना गर्न सक्नेलाई हृदय । यी चार चिजबाट वञ्चित हुनु पशुको लक्षण हो । हीराहरु बाँदरले फ्याँक्छन् किनकि उनलाई मोल थाहा छैन । सुन्दर रचनाहरु बुझ्नु र नबुझ्नु अन्धताभन्दा पनि खराब पशुता हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरु हामी दुर्दुर् गरेर फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हुँदैन, यो साधारणको दैनिक लक्षण हो ।
कति कमलाई याद छ हाम्रो साहित्य–क्षेत्रमा के युग छ र त्यसलाई बनाउने को हो ? नेपाली भाषालाई अनुहार, श्रृङ्गार दिने पहिलो हात कसको ? नबनेको चीजलाई कसले माधुर्यका रसिलारसिला दानाहरु मिलाएर हामीलाई कविताको पहिलो सच्चा आनन्द दिएको थियो ? जब नेपालीको नाम राख्नु मुस्किल थियो, कसको आत्माले आबरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन बेला पण्डितजीहरु भाषाको नाममा नफरत राख्तथे त्यस बेला कसले अकेला