Jump to content

Page:Tarun tapasi.pdf/96

From Nepali Proofreaders
Revision as of 18:04, 17 June 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

१५
कसैले द्योराली भनिकन ठुलो आदर गरे
कुमारीको श्रद्धा लिइकन कसैले स्तुति गरे ।
कसैले हेर्दा त्यै विजन पथको यक्ष म थियेँ
कसैको लेखामा भय भुटिदिने भैरव भयेँ ॥

१६
हली, घाँसी, ग्वाला, कृषक, भरिया आदि यसरी
सदा पूजा गर्दै चरणतलमा लम्पट परी
पुकारा यो गर्थे 'प्रभु ! सकल इच्छा सफल होस्'
म भन्थेँ बिस्तारै अबुझ ! तिमिमा आत्मबल होस् ॥

१७
सदा यै चालाले अबुझहरु विश्वासवश भै
त्यहाँ लागीहाले विधिसहित पूजा दिन सबै ।
म द्यौता, त्यो चौकी विधि-विहित देवस्थल भयो
पछी सुस्तै सुस्तै मुलुकभर माहात्म्य फिँजियो ॥

१८
कुनै भन्थ्यो साक्षात् मकन इनले दर्शन दियिन्
कुनै भन्थ्यो स्वप्नाबिच नगिच आयिन् र दबियिन् ।
कुनै भन्थ्यो मैले कति कति सुनेँ शब्द इनको
कुनै भन्थ्यो मेरो सब हरिदियिन् कष्ट मनको ॥

१९
कुनै भन्थ्यो राती सकल जमिनै बल्दछ अरे
कुनै भन्थ्यो पैले इनिकन नमान्ने सब मरे ।
अहो ! यस्तैयस्ता उपकथन, हल्लाहरु गरी
फसे सारा बोक्रे विधि-नियम-पट्टी हरि ! हरि !!

२०
बनी ध्यानी पीताऽम्बर कमरमा टम्म पहिरी
लिई माला, छालाउपर दृढ पद्माऽसन धरी ।
जपी जागा गर्थे बुधहरु ठुला जन्तर बुटी
थियो मानू चौकी उस बखतको सिद्धि-ढुकुटी ॥