Jump to content

Page:Tarun tapasi.pdf/64

From Nepali Proofreaders
Revision as of 15:55, 14 June 2025 by Rbn (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

२१
यहाँ चल्ने फिर्ने मनुजहरुको जत्ति हक छ
धरित्रीको छातीउपर यसको उत्ति हक छ ।
हर्‍यो होला कस्ले कसरि बिचमा भाग यसको ?
कठै ! जस्ले गर्दा नर-जुनि डुब्यो रङ्ग-रसको ॥

२२
न ता यो अल्छी हो, न त छ यसको अङ्ग विकल
न ज्यादा ढल्केको वय छ, न भिखारी छ शकल ।
अहो ! यस्तो सादा कृषक मिहिनेती कृश-बल
लडी भोग्दो होला कुन अधमको कुत्सित छल ?

२३
न त्यो भन्थ्यो मौरी बनि मह सदा सञ्चय गरूँ
न भन्थ्यो ऐशी भैकन फजुलखर्चीपन धरूँ ।
धरित्रीको भित्री विधि-नियमले प्राप्य यसको
गुम्यो होला खाना कुन छल परी हाय ! कसको ?

२४
कुनै त्यस्तो खाना विन विकल या मूर्छित सरी
कुनै खाना देख्दा अरुचिवश बस्छन् पर सरी ।
तमासा यो हो वा विधि-नियमको घोर भुल हो ?
दुवैको यद्वा त्यो इतर जुनिको कर्म-फल हो ?

२५
गरी खाना जम्बा अरुचिवश त्यो खान नशकी
शुकेका जो जो छन् मनुज तिनले त्यो सब झिकी ।
इनै भोका शोकाऽऽकुल गरिबका दीन मुखमा
चढाये बढ्थ्यो कि अभिरुचि कठै ! खाद्य-सुखमा ?

२६
नहेरी अर्काको मलिन मुख, लोभीपन धरी
समेटी सोहोरी सब खचित पारी घर भरी ।
भनी मेरो मेरो कति कति बिते व्याकुल बनी
अहो ! उस्तै अन्धो अबुझ दुनियाँ यो अझ पनि ॥