This page has been validated
२७
नदी बग्थिन् निक्कै पर, तदपि गङ्गे ! हर हर
म सुन्थेँ, त्यो सुन्दा हृदयबिच लाग्थ्यो र रहर ।
उतै फर्की हेर्थें, जलदसित गर्थें अनुनय
अहो ! कैले द्यौला मकन तिमि त्यो स्नान-समय ?
२८
अहो ! त्यो वेलाको रवि-किरण-माला सुनहरी
धरामा झल्कन्थ्यो सलसल बगेको सुन सरी ।
थियो मानू वर्षा अमृतरसको शान्ति-सुखको
सबैको देखिन्थ्यो धपधप सफा कान्ति मुखको ॥
२९
सबै हेर्दा हेर्दै भुवनभर त्यो जागृति ठुलो
हुँदै-आयो मेरो सकल हृदय-ग्रन्थि खुकुलो ।
थिये त्यो वेलाका सकल रसिला जीवन-घडी
विधाताले अर्कै मकन दिन थाल्यो तर छडी ॥
३०
यति भनि तपसीले माथ केही झुकाये
मधुर वचन-धारा कण्ठभित्रै लुकाये ।
म पनि सकल गर्दै वाक्यको सार सार
पुलुपुलु तपसीको हेर्न थालेँ मुहार ॥