This page has been proofread
एकोनविंशति विश्राम
१
कवितुल्य बनी गरे खुला
तपसीले जुन काव्यको कला ।
मनले सब त्यो गमेँ पनि
फिर बोले मुसुकाउँदै मुनि ॥
२
अघी देख्नासाथै मकन, सहसा भक्तिरसले
भिजी श्रद्धा राखी करयुगल जोडेर खुशिले ।
मलाई सोधेथ्यौ जुन जति कुरा त्यो क्रमसित
सबै छाती खोली कविवर ! बतायेँ तिमिसित ॥
३
रहेँछू कस्तो वा कुन किसिमको यो म तपसी
सहेँछु, भोगेँछु कति कति कुरा आसन कसी ।
बुझे हौला मेरो कठिन सब त्यो जीवन-गति
भये केही बाँकी बुझन, सुन फेरी अलिकति ॥
४
म मात्रै के ? मेरा अगणित सबै बान्धव जति
तपस्या यै गर्छन् सहिकन इनै कष्ट फजिती ।
धरित्रीमा यस्ता विविध नभये धीर तपसी
खरानी भै उड्थ्यो भुवन अथवा केवल मसी ॥
५
भयेथ्यो यो पैले जुन बखत भूगोल-रचना
बसेका हुन् बस्ती उस बखत हाम्रा सब घना ।
भनी व्याख्या गर्थे मुदितमुख पुर्खाहरु अघि
बिपत्ता भो जस्को लय-जलधिमा जीवन बगी ॥