Jump to content

Page:Tarun tapasi.pdf/118

From Nepali Proofreaders
Revision as of 12:47, 14 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread


विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली ।
उता हाँस्तैं निस्क्यो गगनतल नीलो खितितिति
मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ?


कठै ! तेही रित्तो गगनतल सिंहासन गरी
नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी ।
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी ॥


तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी ।
यता पृथ्वी हाँसिन् जलधि-घट काखीबिच धरी
पनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥


निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी ।
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
निहारी सन्ध्याको अरुण सुखशय्या मखमली ॥


लबर्पांडे कालो तरुण रसिलो बादल पनि
तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी ।
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
जथाभावी हाँस्यो सबतिर गर्यो आँखमिचनी ॥


अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परी
परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी ।
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली ॥