Jump to content

Page:Tarun tapasi.pdf/95

From Nepali Proofreaders
Revision as of 17:53, 12 June 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

१२
मलाई यस्तो होस्, पछि म गरुँला पूजन भनी
कुनै थाले गर्न भ्रमवश कठै ! भाकल पनि ।
पुग्यो उस्को इच्छा विधिवश, म दाता हुन गयेँ
गर्यो पूजा भारी, मुसुमुसु म हाँसेर उभियेँ ॥

१३
कुनै च्याङ्ग्रा, बोका प्रभृति पशु रेट्थे बलि भनी
कसैले टक्र्याये मकन खुकुराका फुल पनि ।
कसैले घोप्ट्याये हरकिसिमको मद्य पदमा
म जो देख्दा डुब्थेँ अति कठिन भित्री विपदमा ॥

१४
कसैले भूमे हुन् भनि मकन माने, बलि दिये
कसैले पूजामा विकट वनदेवी पद दिये ।
कसैले वाराही भनि हृदयले पूजित भयेँ
कसैका आँखामा अति जहरिलो नाग म थियेँ ॥