६
झिँगा जस्तो सानू तर अति कडा साहस धरी
फुकाई आशाको झलकमय आलोक-गठरी ।
बढेको देख्दा त्यो निविड तममा निर्भयसित
भयो मेरो भित्री हृदय सब आश्चर्य-चकित ॥
७
प्रभाद्वारा बल्दो विपुल रविको मण्डल कहाँ ?
सुधा-वर्षा गर्ने विशद विधुको गौरव कहाँ ?
कहाँ त्यो विद्युत्को चहक ? फिर तारा ग्रह कहाँ ?
कठै ! त्यस्तो सानू उस जुनकिरीको द्युति कहाँ ?
८
पखेटा खुल्दा त्यो क्षणभर हिरा झैँ झिलिमिली
नखुल्दा वा अड्दा गहन तमभित्रै इलिलिली ।
घडी झिम्क्यो, चम्क्यो चमचम घडी, यै क्रम गरी
हजारौँ देखायो चटकमय लीला हरि ! हरि !!
९
घडी ठाडै जान्थ्यो तमकसित केही पर पर
घडी त्यो लत्रन्थ्यो शिथिल भइ केही तलतिर ।
घडी तेर्छो, बाङ्गो गतिविधि अनेकौँ लिइकन
बलैले त्यो गर्थ्यो तम-जलधि सम्पूर्ण मथन ॥
१०
दुवै आँखा चिम्ली प्रकृति सब त्यो मस्त निदमा
निदायेको साह्रै कठिन डरलाग्दो समयमा ।
न जाने त्यो त्यस्तो किसिमसित के खोजन भनी
सिटो बाली घुम्थ्यो निरतिशय उत्साहित बनी ॥
११
थियो त्यो वेलाको जलधिमय कालो तम घना
सिपीको डुङ्गा झैँ झलक, धृति, उत्साह बहना ।
स्वयं त्यो खेवैया चतुरमति माझी जुनकिरी
न जाने दौडन्थ्यो कुन तट निहारी ? हरि हरि !!
Page:Tarun tapasi.pdf/82
Appearance
This page has been proofread
