Jump to content

Page:Tarun tapasi.pdf/17

From Nepali Proofreaders
Revision as of 18:07, 29 May 2025 by Prty (talk | contribs) (Proofread)
This page has been proofread

२७
दया, मैत्री, श्रद्धा, प्रणय-रसले भित्र रसिलो
तपस्याले बल्दो तर हरघडी शान्त हँसिलो ।
प्रभा उन्को हेर्दा हृदय सब भो गद्‌गद अति
तुरुन्तै श्रद्धाले कविकन लगाये कुतकुती ॥

२८
[1]झुकी झट्टै जोडी करयुगल 'बाबा हजुर को ?
कुटी यद्वा योगाश्रम कुन ? कहाँ हो हजुरको ?'
भनी सोधे श्रद्धा-सहित कविजीले जब अनि
उनी बोले 'मेरो चरित कविजी । लौ सुन' भनी ॥

२९
पुरी मेदै माटो दनुज दुइको सागर भरि
हवादारी गारो चिनिकन दिशाको वरिपरि ।
सफा नीलो तारा-जडित गगनै छादन कसी
बनायेको राम्रो भुवन-कुटियाको म तपसी ॥

३०
न तुम्बाको टण्टा, न त छ चिपिया, झोलि-झकडा
न ता छाला, माला, न धुनि, न कुनै गेरु-कपडा ।
न ता चेला-चाटी, न गुरु परिपाटी छ शरण
खडा छू एकाकी जमिन-बिच टेकेर चरण ॥

३१
पिता माता को हुन् ? कुन नियत वा कारण परी
लियेँ यस्तो ठाडो कठिन जुनिमा जन्म कसरी ?
मलाई यो केही स्मरण अघिको छैन मनमा
म खाली हेर्दोछू प्रणयसित यो विश्व-महिमा ॥

३२
सुती लेटी मिल्ने सुख-सयल जानेँ न त रति
न ता कोही तीर्थ-भ्रमण सुख भोगेँ अलिकति ।
जहाँ जन्मेको हूँ विधिवश उहीँ छू अझ खडा
सही लाखौँ चर्का विपद अथवा सङ्कट कडा ॥

  1. यहाँदेखिको प्रश्न र संवाद झकायेका विरही कविसितको हो ।