Jump to content

Page:Munamadan.pdf/29

From Nepali Proofreaders
Revision as of 10:17, 6 May 2025 by Prty (talk | contribs) (Validated)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
This page has been validated

आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि ?
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ?
नजीकै आयो मानिस यौटा लिएर चिराक,
डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब,
पयोमा यौटा झुण्डेको सास के भर, के डर ?
भएको बल गलाको पुग्छ चिराकपल्तिर,
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी,
मायाले भन्छ, "साथी र भाइ रहेछ हरामी !
मेरो छ घर एक कोस पर, तिमी ता मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैन ।"
भोटेको पाउ समाई भन्छन् बिचरा मदन,
"ईश्वर मेरा हे भोटे दाइ ! क्या राम्रो वचन !
घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,
घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी,
मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ,
मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ,
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन !"
बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो,
खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,
चौँरीको दूध पिलाईकन बलियो बनायो ।[✱ 1]



  1. ✱हिमालको बूटी विचित्र थियो जादूको दियो काम,
    त्यो भोटे दैव नभए कठै ! जान्थे ती परमधाम ।