म ठूलो उस्ताद हुँ, मैले औडव राग मात्र गाउनुपर्छ भन्ने कुनै ठोस नियम छैन । कहिलेकाही चुट्किला भजन पनि गाइन्छ, मनको कल्मष बगाइन्छ । कैयौँ ठूलाठूला नदीलाई आत्मसात् गर्दै आएकी गङ्गा पनि बंगोपसागरनिर आइपुगेपछि भँगालो फाटेर सानो सानो रूपमा परिणत हुन्छिन् । हाम्रो शरीरको मोटो पाखुरा पनि जब नाडीनिर आइपुग्छ त्यो मोटाइ हराएर जान्छ र भिन्न भिन्न लमाइका पाँच औँला दृष्टिगोचर हुन्छन् । भनाइको तात्पर्य, महाकविले महाकाव्य मात्र लेख्नुपर्छ भन्ने कुरा होइन । आफ्नो उमङ्ग, कल्पनाको तरङ्गमा जुनसुकै सानोतिनो विषयलाई पनि लिएर साहित्यिक रङ्ग भर्न सकिन्छ ।
शायद यही उद्देश्यको मर्म बुझेर महाकवि श्री लक्ष्मीप्रसाद देवकोटाज्युले यो 'म्हेन्दु' को सृजना गर्नुभएको होला ।
निकै चड्किलो, मट्किलो, भड्किलो यो पुस्तिका रुचिकर होला भन्ने ठानेर श्री ५ को सरकार, शिक्षा-विभागअन्तर्गत नेपाली-भाषाप्रकाशिनी- समितिले सर्वसाधारणको समक्ष प्रस्तुत गरेको छ ।
२०१४, चैत्र ११
–भीमनिधि तिवारी
नेपाली-भाषाप्रकाशिनी-समिति छ