This page has been proofread
मान्छे सबै मुडुला छन् सधैं मलामी जस्ता
घर पनि मुडुला हुँदैछन् इन्जिनिएर जस्ता
कोठा, चोटा हुन्छन् जलाम्मे लम्बे झरीमा
घोडेजात्रा, जाँडको नयाँ घ्याम्पो फुटे झैं लाग्छ
(१३)
झरना रोएर गइरहेछन्, खानी गुम्सेर बसिरहेछन्,
वनको अकाल मृत्युमा जीवजन्तु तड्पिरहेछन्,
सहानुभूत हृदयले यति दुई शब्द लेख्दा पनि
मातातीर्थे औंसीमा आमाको मुख हेरे झैं लाग्छ
(१४)
ठूला पदमा हामी बस्ने हामी मात्रै ठूला
तिमीहरु ता जुत्ता व्हौ, हामी श्रीपेच, ठूला
राणाको त्यो साँढा नीति पछारिएको देख्ता
अक्षय तृतीया, शीतल ! शर्बत पिए झैं लाग्छ
(१५)
सूचनाले हिंसा रोकेको छ तापनि
हिंसा त भइ नै रहेछ––यता पनि, उता पनि
परीक्षकले परीक्षार्थीको कापी रेटेको देख्दा
बुद्धजयन्तीमा बुद्धकै आत्मा छटपटाए झैं लाग्छ
(१६)