नानीथकुँलाई भन्दाभन्दै पुन नारानले आफ्नी आमा लतमायालाई पनि भने– "डाक्टर आउँदा तपाईंले पनि वास्ता नगर्नू । केही दिन वास्ता नगरेपछि आफैँ कायल भएर आउन छोड्लान् ।"
भाइको साथ पाएर शिव नारानको थकालीपन झन् हौसलादार भयो । चुठ्न उठ्ताउठ्तै शिव नारानले नानीथकुँलाई सम्बोधन गरेर यहाँसम्म पनि भनि दिए– "हेर नानीथकुँ ! भोलिदेखि डाक्टर यहाँ आइ रहेको पाएँ भने म निको मान्ने छैन । उनको पनि म खुट्टा नभाँचीकन छोड्दिनँ ।"
शिव नारानको यो भनाइले नानीथकुँलाई पनि सार्है झोँक चलेछ । सहन खोज्दा पनि उनले सहन सकिनन् र प्वाक्क बोलि हालिन्– "उनको घरमा खबर दिनु होला, अनि उनी यहाँ आउन सक्तैनन्, नत्र उनी आएमा मेरो के दोष ? उनी आएमा मलाई सजाय किन ?"
"तिमी उसलाई आउन रोक्न सक्छ्यौ ।" शिव नारानले भने ।
"म कसैलाई रोक्न सक्तिनँ ।"
"भनि देऊ न 'अबदेखि तिमी यहाँ नआऊ रे' मैले भनेको छ ।"
"त्यसो पनि म भन्न सक्तिनँ ।"
"तिमीले भन्नै पर्छ ।"
"कसरी मैले लोग्ने मानिससित त्यत्रो कडिकडाउ र जबरजस्ती कुरा गर्ने ?" अलि रुन्चे स्वरमा नानीथकुँले भनिन् ।
"हाँसी हाँसीकन ख्यालठट्टा गर्ने वेलामा भने ऊ लोग्ने मानिस भएन ?" ठुलठुला आँखा गरी शिव नारानले भने ।
शिव नारानको यो उक्ति नानीथकुँलाई वाणजस्तो भयो । रातो रातो आँखा गरी मुखभरि जबाफ लिएर नानीथकुँले शिव नारानप्रति हेर्न थालिन् ।
शिव नारान गर्जिरहे । नानीथकुँ तर्सिइन् । रात छिप्पिँदै गयो । शिव नारान जुरुक्क उठे । उनी जसोतसो रिसलाई काबुमा राख्ने कोसिसमा लागे "बिस्तारै उनको रिस सितलो भयो। उनी निदाए । नानीथकुँ छटपटाइ रहिन् । उनी निदाइनन् ।