रहेको देखेर उनले खिस्स हाँस्तै भनिन्- "भैगो नि, कति बोलिरहनुपरेको ! चुप लाग्नोस् ।"
"तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।" अलि रिसाएको भावमा शिवनारानले भने ।
"अहो ! बोल्ने सरोकार पनि मलाई भएन ?" मुस्काएकै अनुहारमा हाकुमायाले भनिन् ।
"चुप लाग, एक शब्द नबोल, म जोइटिङ्ग्रे होइन कि जे पनि तिमीले भनेको मानिरहूँ र सहिरहूँ । म फेरि भन्छु, फेरि एक शब्द नबोल ।" आँखा र अनुहार दुवै रातो पारेर शिवनारानले भने ।
अहिले त हाकुमाया पनि डराइन् । शिवनारान यसरी दुर्वासा बनेको त हाकुमायाले कहिल्यै देखेकी थिइनन् । उनी झटपट चुठेर आफ्नो कोठामा गइन् । शिवनारान अझै पनि चुप लागेका थिएनन् । अनि पुननारानले भने- "भैगो नि, डाक्टरले अहिलेसम्म केही नराम्रो गरिसकेका त छैनन्, ‘अबदेखि नबोलाईकन नआउनुहोला’ भनिदिउँला, कुरै मेटियो ।"
"बचावट भनेको अगावै गरिसक्नुपर्छ, बिग्रिसकेपछि के बचाउने ?" शिवनारानले भने ।
"त्यही त म भन्छु ‘अबदेखि नआउनुहोला’ नै भनिपठाऔं !" पुन नारानले भने ।
"आइरहेका मानिसलाई ठाडै नआउनू भन्नु सभ्य व्यवहार होला ?" हर्षनारानले भने ।
"यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरिरहने ? बदमासी गराउन उसलाई हौसला गराइरहने ?" शिवनारानले जङ्गिएर भने ।
"काम न काजसित डाक्टर दिनहुँ आइरहनाले छरछिमेकमा हाम्रो ख्याल तितो पिरो आलोचना र टीकाटिप्पणी चलिरहेछ ? तरुनी छोरीबेटी भएको घरमा यसरी बिनाकाम कोही मानिस आइरहनु राम्रो कुरा होइन ।"
शिवनारान बोलिरहेका बेला पुननारानले नानीथकुंतिर हेरेर भने- "अबदेखि डाक्टर गोदत्तप्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।"