This page has not been proofread
८८
उच्च, निश्चल, निस्पक्ष, ठिङ्गा वृक्षहरू सबै ।
देखिन्छन् भोगको तृष्णा त्यागेका अवधूत झैं ॥
८९
मरेतुल्य बगैंचाको कुनाकानी अली अलि ।
देखिये हृदयाऽऽनन्दी रसिला कुन्दका कलि ॥
९०
कमायें जगतैलाई भनी शिशिर पागल ।
खिस्स हाँस्यो कि देखाई दन्त झैं कुन्दकुड्मल ?
९१
दाउरा पातका निम्ति वनभित्र पसीकन ।
ग्रामीण रमणी थाले शालैज्यू गीत गाउन ॥
९२
तुषाराले मरेतुल्य बनायेको वनै सब ।
घन्क्यो घनक्क त्यै गीतप्राणसञ्चारले अब ॥
९३
पह्लाये दुइचारोटा कलिला फूलका कलि ।
कृत्यको तत्त्व जानेको विज्ञजस्तै अली अलि ॥
९४
आरू र आलुचा आलूबखडा पुष्पभूषित ।
मानू वसन्तका दिव्य दूत झैं छन् उपस्थित ॥
९५
लागूजस्तो महाऽऽनन्दी फागुको रङ्गमा परी ।
विलासीजनको वृन्द रमायेको छ बेसरी ॥
९६
काट्यो जगतले जाडो धैर्यशस्त्र लिईकन ।
रङ्गका निहुँले रक्त बहन्थ्यो नत्र यो किन ?