This page has not been proofread
६१
फाँडिये कण्टकप्रायः बढेका खर दूषण ।
पियारो भोजनस्थान रह्यो अधमरा वन ॥
६२
रात्रिशूर्पणखा काली अँध्यारो मुख लाउँदै ।
हिमरावणका साथ गर्छे मानू कुरा रुँदै ॥
६३
फिँजारेकी छ उसले जगल्टा अन्धकारका ।
शीतका रूपमा हर्दम् खसाल्छे आँशुका ढिका ॥
६४
मेघनाद छँदैछैन पन्छाईरविभीषण ।
रात्रिशूर्पणखाले त्यो जगायी हिमरावण ॥
६५
पछारिँदामा त्यो रात्रिराक्षसी आयतोदरी ।
धेरै नै थिचिये राम्रा उज्याला दिनका घरी ॥
६६
देखिनेबित्तिकै झट्ट दबिन्छ दिन माधुरी ।
दरिद्रको क्षणस्थायी मनको मन्सुबासरी ॥
६७
उनै सूर्य, उनै पृथ्वी, उही छ किरणाऽऽवली ।
कालको गतिले गर्दा राप किन्तु अलीअलि ।
६८
फर्काउँछ सिधा पीठ दुनियाँ सूर्यसम्मुख ।
हेरला को कठै मन्द गिरेका मित्रको मुख ?
६९
तेजस्विता भयेदेखि सूर्यमा क्यै अलीकति ।
शीतले यसरी लोक काँपदो हो कहाँ यति ?