Jump to content

Page:Ritubichar.pdf/57

From Nepali Proofreaders
Revision as of 18:43, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२५
दैवी प्रकृतिको दिव्य प्रातःकालीन गौरव ।
हुस्सूरूप महामैला थैलामा बन्द भो सब ॥

२६
हुस्सू प्रकृतिको लामू गर्भाशयसमान छ ।
उसमा कर्मबाधाको सबैमा एक भान छ ॥

२७
दिशा यो विदिशा यो हो भन्ने भेद पनी गयो ।
मानू समसमाऽऽकार लयलीला खडा भयो ॥

२८
सबेरै देवकन्याले बढारी स्वर्गमन्दिर ।
फालेछन् कि यता मैलो हुस्सूरूप कसिङ्गर ?

२९
न मेघ हो, न हो पानी, न धुवाँ हो, न बाफ हो ।
बिहानै ढुस्सिने तेस्तो नजाने कुन पाप हो ?

३०
मैलो विषयतृष्णामा मुक्तिको महिमासरी ।
कुइरामा बिपत्ता भो श्रीसूर्योदयको घरी ॥

३१
निद्राले चेतनाजस्तै हुस्सूले दृष्टिको गति ।
साह्रै गुटूमुटू पार्यो देखिँदैन यताउति ॥

३२
कुइरामा कठै काग घुम्छन् अन्योलमा परी ।
मायाले मुक्तिको मार्ग बिर्सेका विषयीसरी ॥

३३
आधा हिलामा लत्रेको पद्मका फूलको सरी ।
कुइरामा दब्यो आधा दिनको कान्तिमाधुरी ॥