हर्षनारान आज माहिला तामाङकहाँ जुवाईं बनेर आइरहेका छन् । उनका साथमा दाजु पुननारान पनि छन् । दिनभरि भरिया भए पनि दुई छाक खान नपाएका बिचरा माहिला तामाङ उनीहरूलाई विशेष खुवाउने, पियाउने कुराले के सत्कार गर्न सक्थे ? हृदयबाट गरिने सम्मानमा भने कुनै कमी हुन दिएनन् । जोईपोइ दुवैले ती दाजुभाइलाई बडो आदरसाथ शिष्टता, नम्रताको व्यवहार गरे । उनीहरूको शिष्टता देखेर पुननारानहरू ज्यादै खुसी भए ।
छोरीलाई अरू केही दिन नसके पनि गोडापन्ध्रक रुपियाँ सापट लिएर माहिला तामाङले गौनको फरिया, मखमलको चोलो र खास्टो पहिराएर सुसज्जित पारिराखेका थिए । पुतलीले यति धेरै लुगा एकै चोटि लाउन पाएको उनको जिन्दगीमा पहिलो पटक हो । आफ्ना अनन्य प्रेमीका साथसाथै यस्ता नयाँ लुगा लाउन पाएकाले आज पुतली साहै प्रफुल्ल छिन् । उनी घरी आफूलाई लैजान आफ्नो अगाडि हाँसि रहेका आफ्ना जीवनधनलाई लुकीछिपी हेरिरहन्छिन्, घरी आफ्ना लुगातिर आँखा घुमाएर आह्लादित भइरहन्छिन् । पुतलीले आज रातो धागो हालेर कपाल बाटेकी छिन्, निधारमा टाढैबाट देखिने एउटा ठुलो सितारा, ओठ र गालामा लाली पनि लाएकी छिन् । उनले आज आफूलाई ‘स्वर्गकी परी’ जस्तै राम्री ठानेकी छिन् ।
हर्षनारानहरू पुगेको करिब एक घण्टापछि माहिला तामाङले पुतलीलाई बिदा गरे । छोरीलाई बिदाइ गर्दा उनकी आमा रोइन् । माहिला तामाङले पनि आँखाबाट आँसु झारे । पुतलीका पनि दुवै आँखा आँसुले भरिए ।
बिदाइको बेला उनकी आमाले केवल यतिसिवाय मुखबाट बोली निकाल्न सकिनन् – "राम्रोसँग बसी सबैलाई खुसी पार !"
माहिला तामाङले छोरीलाई दिन ल्याएको डोको, नाम्लो र हँसिया सुम्पिँदै भने – "छोरी ! लौ यो डोको, नाम्लो र हँसियालाई कहिले पनि नबिर्स र खर्पन, नोल, कोदालीको साथ सुहाएर नेपाललाई हँसाउने कोशिश गर ।"