This page has not been proofread
४३
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति ।
देखी हृदयले भन्छ अभिमान नले रती ॥
४४
वर्षामा मेघले ज्यादा दबायेका दिवाकर ।
अत्यासले गलेछन् कि ? चलेछन् कि उँधोतिर ?
४५
धैर्यको शान्तिको दिव्य नमूनातुल्य निश्चल ।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥
४६
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।
देखिन्छन् आत्मविद्याका सिद्धान्तसरि दुर्गम ॥
४७
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली ।
मूर्तिधारी तपस्वी झैं झल्कन्छन् हिमका चुली ॥
४८
हिमालका पखेरामा तलै लत्रे पयोधर ।
शिवका कटिको लम्बा बाघाम्बरबराबर ॥
४९
निस्कँदा पद्मिनीनाथ छिचोली मेघको वन ।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥
५०
देखिन्छ अघिको भन्दा राम्रो कमलसंहति ।
चर्को विनाशबेलाको बत्ती झैं विमलद्युति ॥
५१
थुँगा कमलका राम्रा देखिन्छन् पोखरीभरी ।
आकण्ठ जलमा मग्न अप्सराका मुखैसरी ॥