Jump to content

Page:Ritubichar.pdf/45

From Nepali Proofreaders
Revision as of 18:43, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

२५
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी ।
झल्कन्छ कल्पनाशून्य योगीको हृदयैसरी ॥

२६
रातमा झल्कने ज्यादा ठूला साना हिरासरी ।
तारा झिलिझिली गर्छन् त्यो नीलगगनैभरी ॥

२७
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी ।
तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥

२८
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी ।
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरीथरी ॥

२९
झल्कन्छ राति आकाश ती ताराहरुले गरी ।
योगीका सुखशय्याको कार्चोपी चाँदनीसरी ॥

३०
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन ।
सच्चा अमृतका टुक्रा कमबेसी थिये कुन ?

३१
शान्त भै ठाममा आये ठूला नदनदी सब ।
सबैको अस्थिरै हुन्छ उर्लंदो वेगवैभव ॥

३२
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी ।
जवानीको कडा माद दौडन्छ बिजुलीसरी ॥

३३
वर्षाका जोरले मात्र उर्लेका खहरे जती ।
छोडी आडम्बरी फूर्ति बन्न थाले बकव्रती ॥