चौबिस
हिजोको रोपाइँको थकाइ मेट्न आज शिवनारानहरू कोही पनि खेतमा गएनन् । अब दुई-चार दिनपछि त गाई, साँढेहरूले बाली खाइदिने डर मानेर खेतमा सुत्नसमेत पनि जानुपर्ने हुन्छ । यसले पनि आज एक दिन आरामै लिऔं भनी उनीहरू खेतमा नगएका हुन् । त्यसैले आज पुन नारान र हर्षनारान दुई जना मात्र थिएनन् । परिवारका अरू सदस्यहरू घरमै थिए ।
आज शिवनारान घरमा बसेको मौका र नानीथकुंको डाक्टरसँगको नराम्रो सम्बन्ध जुट्न लागेको देखिएको हुनाले लतमायाले शिवनारानसँग नानीथकुंको विवाहको कुरा चलाइन् । उनले शिवनारानलाई भनिन्- "नानीथकुंलाई अब यसै राखिछोड्न भएन, शिवनारान ! लक्का जवान भइसकी, झट्टै बिहे गरिदिनुपर्यो, नराम्रो कुरा सुनिन थालिसक्यो । योभन्दा पनि नराम्रो कुरा सुन्नुपर्ला भनेर बिघ्नै डर भइसक्यो, मलाई त । जे गरेर, जे सहेर पनि यो एउटीको बिहे गरिदिऔं, हर्षनारानको बरु पछि गर्दै गरुँला, त्यस्तो कुनै हतारो छैन ।"
"मैले पनि यही सोचिरहेको छु, आमा ! बदमास डाक्टर गोदत्त प्रसादको बिघ्नै डर भइसक्या छ, मलाई ।" शिवनारानले अलि गम्भीर भावमा भने ।
"मलाई पनि डर भइरहेको छ त्यसको, त्यसैले म भन्छु सोचेर मात्र भएन, झटपट गरिहाल्नुपर्यो ।" लतमायाले भनिन् ।