Jump to content

Page:Ek chihan.pdf/62

From Nepali Proofreaders
Revision as of 08:32, 14 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread

"किन सक्तिनौ ? खुसीसाथ आउन सक्छ्यौ । तर म नै यदि तिम्रा दाजुहरूलाई मन पर्दिनँ भने मकहाँ आइरहने स्वतन्त्रता तिमीले पाइ रहन सकौली ?"

"सोधेर र थाहा दिएर मैले किन आइरहनुपर्छ र ?"

"अवश्यमेव चाँडै नै थाहा हुन जान्छ नानीथकुं !"

"थाहा भए के त ।"

"आउन रोकिदेलान् ।"

"म पशु त होइन, बाँधिराख्न सक्लान् ?"

"मनाही गरिदिए भने तिमी के गछर्यौ ?"

"म मान्दिनँ ।"

"नमानेर के गछर्यौ ?"

"के तपाईंको मलाई शरण दिने विचार छैन त ?" अलि निराशापूर्ण भावमा नानीथकुंले भनिन् ।

"त्यसो भनेको होइन नानीथकुं ! शरण त के तिम्रा लागि म ज्यान दिन पनि तयार छु ।" आश्वस्त भावमा डाक्टर गोदत्तप्रसादले भने ।

"बस, अनि मलाई के दुःख ? कसैको भनाइले मलाई के छेक्न, थुन्न सक्ला ? फगत मलाई तपाईंको प्रेमको चाहना छ । त्यही मैले पाएँ भने मलाई छेक्ने को ? संसारको कुनै शक्तिले पनि मलाई छुन सक्ने छैन ।"

नानीथकुंले यति भनेपछि डाक्टर गोदत्तप्रसाद एकछिन घुर्न थाले ।

अनि बाहिर घाम हेरेर नानीथकुंले भनिन्- "तपाईंलाई अबेर भयो कि ?"

"भर्खर ८:३० बज्यो, मलाई केही अबेर भएको छैन नानीथकुं !" भित्तामा घडी हेरी हाँस्तै डाक्टर गोदत्तप्रसादले भने ।

"अझै एक घण्टा त तपाईंलाई फुर्सतै छ क्यारे !"

"एक घण्टा मात्र के, तिमी चौबिसै घण्टा बस न नानीथकुं । फुर्सत कुन कुरा हो र ? बनाए छ, नबनाए छैन ।"

"अस्पताल जान अबेर हुन जाला भनेर भनेको । अस्पताल त जानै पर्छ होला !"