रञ्जनादेवीको तीरसमान यो तिखो वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद छटपटाउन थाले । भित्र पूरा बल सञ्चारित भएर पनि उनको आँखाले तोरीको फूल देख्न थाल्यो । सहसा अकमकिएर उनी बिनाप्यासमा पनि पानी पिएर बोल्न लागे- "के ?"
"के पनि कुनै प्रश्नको उत्तर हो ? मैले सोधिसकेकी छु कि तपाईं बिरामीकोठामा किन बसिरहनुभएको ?" अलि फर्केको भावमा रञ्जना देवीले भनिन् ।
"बिरामी हेर्न ।" सरल भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"खुब हेर्नुभयो बिरामी !" रोषपूर्ण भावमा रञ्जनादेवीले फेरि भनिन्- "मलाई थाहा छैन ? एकएक देखेकी छु मैले, तपाईंको साधु भेषमा कृष्णलीला ! अगि आउने ‘नानीथकुं’ भन्ने किसान बालासित के गरिरहनु भएको ? कि उसमा अटाइनअटाई बगिरहेको उसको वर्षाकालीन यौवन यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसिरहेको डाक्टर हुँ भन्ने नै बिर्सनुभयो ?"
रञ्जनादेवीको झम्टाइ सुनेर डाक्टर गोदत्तप्रसादले मुसुमुसु हाँसेर उनको मुख एक चोटि हेरे तर केही बोलेनन् ।
"अझ खिस्सखिस्स हाँसिरहन तपाईंलाई लाज छैन ? मानिसको शोभा र सभ्यताको रक्षा गर्ने कुरा लाज हो । मानिसमा लाजै छैन भने त्यस नाङ्गो मानिससित कसको के लाग्छ ? बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि बच्न सकिन्छ, तर मुसुमुसु हाँसीकन बिताउने हँसमारादेखि बच्न गाह्रो छ । यस्तो पनि भलादमी मानिसको ताल हो ?" रञ्जनादेवीले भनिन् ।
"के…?" त्यसै टारेर पठाउने भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"के के… के… भनिरहनुभको ? लाज छैन, सरम छैन, तीन तीन जना छोराछोरीको बाबु भैसकेर पनि, उसमाथि डाक्टरजस्तो भएर सितिमिति आजकल जवान मानिसले पनि नगर्ने गुन्ड्याइँ काम गरिरहने ?"
"तिमीजस्ती पढेलेखेकी स्वास्नीमान्छेले पनि अझ चेवाचर्चा गर्ने निर्घिनी काम गर्न सुहाउँछ ? चेवाचर्चा गर्ने बानी छउन्जेल जतिसुकै विद्याको उन्नति गरे पनि हामीले सुखशान्ति पाउन सक्तैनौं रञ्जना ! यस