This page has not been proofread
८९
अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली जब ।
जलवासी अनी हाँसी निस्कन्छन् तीरमा सब ॥
९०
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैं प्रशंसन ।
भला हुन्थ्यो सदाकाल कहाँ ज्यादा गरम्पन ?
९१
दिन रात दुवैको छ चौथो याम मनोहर ।
चतुर्थाऽऽश्रम झैं आर्यजातिको शान्तिमन्दिर ॥
९२
दिनमा जीवनाऽऽशाको लहरा जो हराउँछ ।
चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो पह्लाउँछ ॥
९३
उदयाऽचलमा चारु निस्कँदा चन्द्रमण्डल ।
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥
९४
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरीथरी ।
अटालीमा चढी बस्छन् रातमा च्याखुरासरी ॥
९५
प्रचण्ड घामले गर्दा शुष्कप्राय चराचर ।
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥
९६
कर्पूरद्रव झैं चीसो चन्द्रको दिव्य चाँदनी ।
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥
९७
बिहानीपखको राती मिल्छ जो शीतलोपन ।
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥