Jump to content

Page:Ritubichar.pdf/27

From Nepali Proofreaders
Revision as of 18:32, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

८०
वृष्टि छैन, कडा घाम बढदो छ प्रतिक्षण ।
डढेलो उसमा फेरि के रहन्थ्यो कठै वन ?

८१
डढेलाले डढायेको वन देखिन्छ यो घरी ।
नबाबले प्रतापाऽऽग्नि सल्केको भारतैसरी ॥

८२
उडायो ग्रीष्मले सारा वसन्तकृत गौरव ।
नीच पापी दुरात्माले सन्तको कीर्ति झैं सब ॥

८३
यौटा गुलाफको पुष्प यस्तो ताप पनी सही ।
दुरुस्त अघिको जस्तै फुलेको छ जहाँतहीं ॥

८४
उपकारी महात्माको चित्त झैं स्वच्छ कोमल ।
देखिन्छ भाग्यले यौटा शिरीषतरुमा फुल ॥

८५
गम्भीर जलको भित्री तहमा नडुबीकन ।
संसारभर पायिन्न आनन्दी शीतलोपन ॥

८६
क्षणिकाऽऽनन्दमा लुब्ध जीव झैं मोहजालमा ।
जलमा मग्न भै गोता लिन्छन् रसिक हालमा ॥

८७
निस्कनु दबिनुरूप विश्वक्रमनिदर्शन ।
देखायेर सबै गर्छन् उन्मज्जन निमज्जन ॥

८८
देखिन्छन् जलमा पौडी खेलने ती थरीथरी ।
दिव्य आनन्दगङ्गाका सजीव लहरीसरी ॥