"मैले हो र, दाजुले नै भात पकाउन सजिलो भनेर आमालाई बाँड्नु भएको । तपाईंहरू जस्तो हुनेखाने भए पो बुढी भएको नातामा काम गर्न पर्दैनथ्यो, हामी गरिबको घरमा त बुढा र रोगी भएर पनि सुख छैन ।"
"वाह, वाह । तिमीहरूको हकमा, अझ विशेष गरेर तिम्रो दया तारिफ गर्नलायकको छ । अझ भोलिपर्सि तिमीले खेत कोरेर फूल रोप्नुभन्दा ढकी बोकेर फूल टिप्नु गाह्रो भन्नलाई पनि बेर छैन ।"
खित्त हाँसेर नानीथकुंले भनिन्- "भो, बाबा भो, आज एक दिनलाई माफ गर्नोस्, भोलिदेखि मै भात पकाउन जानेछु ।"
अलि सतर्क भावमा डाक्टर गोदत्तप्रसादले भने- "होइन ब्यारे, ठट्टा गरेकोसम्म हुँ, फेरि भोलिदेखि भात पकाउन गएर मलाई दर्शन नपाउने सजाय देउली नि !" अलि हाँसेर- "मेरो यो कुरा आफैँ पछुताउनुपर्ने मूर्ख कुरा हुन नजाओस् है, नानीथकुं !" लोलाएका आँखामा खिस्स हाँसेर "तिमीलाई ‘थकुं’ झिकेर म खालि ‘नानी’ मात्र भन्न सक्छु ?"
मुसुक्क मुस्कुराएर नानीथकुंले भनिन्- "किन ?"
"नानी’ मा भएको मिठास ‘थकुं’ ले अलि खल्लो पारेको छ ।" नानीथकुंले केही पनि जबाफ दिइनन् खालि सुन्दर कर्के आँखाले एक चोटि पुलुक्क मात्र हेरिन् ।
"रिसायौ कि ? तिमीलाई नमिठो लागे माफ गर, ‘नानीथकुं’ नै भन्ने गरुँला ।" खिस्स हाँसेर गोदत्तप्रसादले भने ।
यो पटकमा पनि नानीथकुंले जबाफ दिइनन्, केवल लजाएको आँखाले पुलुक्क मात्र हेरिन् ।
"मैले त तिमीलाई सम्मानको भावमा पो ‘नानी’ मात्र भनेको, ‘थकुं’ कट्टा गरेको तिमीलाई त्यति मन परेको रहेनछ !"
"अँ हो !" लज्जामिश्रित हाँस्तो अनुहारले नानीथकुं बोलिन् ।
"लौ लौ, तिम्रो प्राणझैँ मन परेको ‘थकुं’ लाई म खान्नँ, ‘नानीथकुं’ नै भन्ने गरुँला, अब त भो ?" आँखा नचाउँदै डाक्टर गोदत्तप्रसादले भने ।
"अँ हो !"
"अझ रिस मेटिएको छैन तिम्रो दिलमा ?" आँखा नचाएर डाक्टर गोदत्तप्रसादले भने ।