"अँ हो, रिसाएको ।"
"मुख हेर्दा भने रिसले छुन पनि सक्ला जस्तो छैन । सधैँ गुलाफको फूल झैं मुस्कुराएको देखिन्छ, रिसलाई त अगाडि पर्न पनि डर होला जस्तो, तर दिलमा कस्तरी रिस अड्किरहन सकेको नि !" मुस्कुराइरहेको नानीथकुंको अनुहार नियाल्दै डाक्टर गोदत्तप्रसादले भने ।
"अँ हो !"
"होइन भने ‘नानी’ मात्रै भनूँ है त, ‘थकुं’ नभनूँ ?"
"हुन्छ ।"
"साँच्चै हो त ? "
"हो ।" अलि लजाएको भावमा हाँसो चोर्दै- "मलाई पनि ‘नानी’ नै भन्ने मिठो लाग्छ ।"
"साँच्चै ? नढाँटीकन भन नि !"
"साँच्चै हो !"
"हेर नि, रिसाउन पाउन्नौ, म आफूलाई मिठो लागेको ‘नानी’ सिवाय भन्दिनँ नि कहिल्यै !"
विनम्र भावमा मुस्कुराउँदै नानीथकुंले भनिन्- "अर्काको अगाडि त होइन नि !"
"बाठी !" प्रेमको छिटा परेको बोलीमा डाक्टर गोदत्तप्रसादले भने- "मलाई के भन्न मन लाग्छ नि तिमीलाई, ‘गोदत्त’ मात्र कि, सिङ्गै नाम ?"
"डाक्टरसाहेब !" खित्त हाँसेर नानीथकुंले भनिन् ।
"कोही नहुँदाखेरि नि, अर्थात् तिम्रै नजरको मात्र नजरबन्दीमा पर्दा ?"
"डाक्टरसाहेब नै ।"
"नाइँ, नाइँ !"
"के भन्ने त ? "
"त्यही त, म भन्छु तिमीलाई के भन्न मन लाग्छ ? जस्तो कि तिमीलाई खालि ‘नानी’ मात्र भन्न मलाई मन लाग्छ ।"
"हो त ?"
"हो भनेको ।"
"रिसाउन पाइन्न नि !"