"पोहोर सालको बाली बाँकीको तमसुक पनि च्यातेर माफी दिनु मोहीमाथिको तल्सिङको सानो निगाहा होइन । आजको जुगमा यस्तो तल्सिङ पाउन गाह्रो छ ।" कृतज्ञताको भावमा लतमायाले भनिन् ।
"तमसुक बेइमानीको बल तोड्ने साधन मात्र हो, त्यसैले तमसुक च्यातिइसक्यो भनेर हामीले बेइमान हुनु हुँदैन । हामीले खास तिर्नु छ र तिर्ने कबुल पनि गरिसकेका छौं ।" शिवनारानले भने
"त्यसो भए उनले माफी दिए तापनि हामीले तिर्न जाने त ? यो कुरा चित्त बुझेन दाइ !" पुननारानले भात खाँदै भने
"यस्तो एकाएकको उदारता अवश्य खतरनाक छ, मलाई शङ्का लाग्छ, भाइ ! त्यही बालीका निम्ति अस्तिअस्तिसम्म दैत्य भइरहेको मानिस आज एकाएक कसरी देवता हुन सक्ला ? मलाई त असम्भव लाग्छ ।" गम्भीर मुद्रामा शिवनारानले भने ।
"त्यसो भए देशी तानको मद्दत पनि नलिने त ?" लतमायाले अलि चित्त नबुझ्दो भावमा बोलिन् ।
"मद्दत अवश्य राम्रो कुरा हो र लिनु नराम्रो पनि छैन, तर मद्दतगार मानिस त्यस्तो गुनी नदेखिएको हुनाले मलाई त तितो लाग्छ ।" शिवनारानले भने ।
"डाक्टर गोदत्तप्रसाद पनि त अगि असल मानिस थिएनन् तर उनले हामीलाई त्यस्तरी मद्दत दिए, हामीले उनको हरेक मद्दतलाई स्वीकार गर्यौं पनि ।" हर्षनारानले भने ।
"उनको मद्दत पनि मलाई मिठो लागेको थिएन । तर एउटाबाट थिचिसकियो भनेर अर्कोबाट थिचाउन लाउनु बुद्धिमानी पनि त होइन । डाक्टरको त्यस्तो सहानुभूतिलाई बाले पनि त सहसा मिठो मान्नुभएको थिएन ।" शिवनारानले चुठेको मुख पुछ्तै भने ।
‘डाक्टरको मद्दत मिठो नमानेको’ भनेको सुन्दा नानीथकुंलाई तितो लाग्यो । उनले अलि मुख बिगारेकी थिइन् तर कसैलाई होस भएन ।