"किन ?"
"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"
"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिवनारानले भने ।
"आज साँझमा धारामा पानी लिन जाँदा पुन्वा दाजुकी स्वास्नीले भनेकी थिइन्- नानीथकुंको डाक्टरसित प्रेम छ रे !"
"को डाक्टर ?"
"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्तप्रसाद !"
लाजले हो कि रिसले हो, शिवनारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।
हाकुमायाले फेरि भनिन्- "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौं ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नुभएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुंलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !"
"साँच्ची हो रे ?" शिवनारानले भने ।
"साँच्चै हो । एक-दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनिरहन सकिनँ भन्थिन् ।"
"मलाई पनि अलिअलि शङ्का त अस्ति नै लागेको थियो ।"
"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि राखेको त उनीहरूलाई सोह्रमा तान्दा एक्का भयो ।"
"फिस नलिनु डरलाग्दो कुरा छ, ‘मलाई शङ्का लाग्छ, अब उनलाई नबोलाउनू’ भनी बाले त पहिल्यै भन्नुभएको थियो । बुढापाकाको कुरा सितिमिति फुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"
"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत होला । ‘आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू’ भनेझैं नानीथकुंलाई भोलिदेखि खेतैमा लगिराखे त कुरै मेटिन्छ- न रहे बाँस, न बजे बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।
"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुंलाई पनि म के गर्छु ?"