This page has not been proofread
७०
स्वर माधुर्यको तेस्तो किन्नरैतुल्य कोइली ।
रूपमा लाजले हो कि बोल्छ राती झुलीझुली ॥
७१
कोकिलस्वर त्यो सुन्दा संयमीहरुको पनि ।
डग्मगाउन चाहन्छ समाधिमय जीवनी ॥
७२
कोइलीको कुहूकार सुन्यो राती जती जती ।
उती उती नयाँ लाग्छ यो सारा सृष्टिपद्धति ॥
७३
कोइली कागको भेद बोलीबाटै खुल्यो सब ।
मौकामा गुण जाहेर नभई रहला कब ?
७४
अघिका वेदविज्ञाता ऋषिको झैं मनोहर ।
लाखौं चराचुरुङ्गीको सुनिन्छ मधुर स्वर ॥
७५
कुनै काँकाँ, कुनै कुर्र, कुनै चिर चिरीरिरी ।
शब्दसौन्दर्यभण्डार खोली बोल्छन् थरीथरी ॥
७६
पुष्पपल्लवका साथै पक्षीको मोद मङ्गल ।
जुटनाले खुलेको छ नन्दनैतुल्य जङ्गल ॥
७७
जुरेली, मुनियाँ, मैना, श्यामा, पट्टु, चिभे चरी ।
धोबिनी सब देखिन्छन् उडने रागिनीसरी ॥
७८
मोहिनी तिनको बोली, मोहिनी भावभङ्गि छ ।
अङ्ग अङ्गविषे भिन्नै मोहिनी रङ्गिचङ्गि छ ॥