Jump to content

Page:Ritubichar.pdf/13

From Nepali Proofreaders
Revision as of 18:24, 5 May 2025 by Rbn (talk | contribs)
This page has not been proofread

६१
बडो विशाल गम्भीर नील आकाश झैं वन ।
झल्कन्छन् फूलका गुच्छा तारकातुल्य शोभन ॥

६२
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो ।
बल विद्या गुमायेको भारतैतुल्य देखियो ॥

६३
लताजञ्जालले ज्यादा जकडेका कुनै रुख ।
पापका बोझले ग्रस्त पापी झैं छन् अधोमुख ॥

६४
लर्काई सुनगाभाको पुष्पहार कुनै रुख ।
विलासी झैं डटेका छन् देखाई हँसिलो मुख ॥

६५
साना ऐसेलुका दाना टिपदा ती टपाटप ।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥

६६
निस्के नयाँ नयाँ लाखौं वृक्षमा मञ्जु मञ्जरी ।
रसिला प्रतिभाशाली कविका कवितासरी ॥

६७
ऋषि झैं गरदै शुद्ध मञ्जरीमय भोजन ।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥

६८
माधुर्यसिन्धुको यौटा उर्लंदो लहरीमय ।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥

६९
अदना त्यो चरीलाई त्यो स्वर्गीय सरीगम ।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥