This page has not been proofread
४३
काव्यका रसमा लोभी कवि झैं लट्ठ भैकन ।
प्रत्येक पुष्पमा थाले भुमराहरु झुम्मिन ॥
४४
आनन्दी पुष्पमा कालो दुःखरेखासमानको ।
तुच्छ त्यो भ्रमरश्रेणी के होला पात्र मानको ?
४५
गुणीका गुण झैं सारा रसधारा चुमीकन ।
भूँभूँ गरी उडीदिन्छ स्वार्थी भ्रमरको गण ॥
४६
रसवेतनका लोभी यद्वा भ्रमरशिक्षक ।
आफनू जीविका गर्छन् पढाई पुष्पबालक ॥
४७
हाँसी मुसुक्क बिस्तारै शिर हल्लाउँछन् फुल ।
भुमराको उही हुन्न के होला कुनको भुल ॥
४८
गुलाफको लगायेर विधिले लालमोहर ।
दियेको हो कि वा बाग भृङ्गकै भोगखातिर ?
४९
भृङ्गले रस रित्त्याई चुसेर पुष्पवाटिका ।
देखिन्छ वैरिविध्वस्त निर्धो देशसरी फिका ॥
५०
चीसो दक्षिणको हावा बहनाले सिरीसिरी ।
लहरा पालुवा गर्छन् मन्द मन्द फिरीफिरी ॥
५१
तालका सुरमा कोही सिपालू नटको सरी ।
पुष्प पल्लवको निस्क्यो हावामा नृत्यमाधुरी ॥