"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिवनारानले भने ।
"त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरिदिएका पनि छैनन् ।" सशङ्कित भावमा अष्टनारानले भने ।
वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिवनारानको हृदयमा पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिवनारानले आफ्ना पिताज्यू अष्टनारानलाई सम्झाएर भने- "डाक्टर गोदत्तप्रसाद सायद अगि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"
"ठीक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट नारानले भने ।
"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता लिनुपर्दैन, केवल मन खुसी पारेर बस्नुहोला ।" अलि नम्रतापूर्ण भावमा लतमायाले भनिन् ।