Jump to content

Page:Ek chihan.pdf/7

From Nepali Proofreaders
Revision as of 15:03, 10 April 2025 by Rbn (talk | contribs)
This page has not been proofread
तिन

अष्टनारानको व्यथा बढ्दै आयो । शिवनारान डाक्टर बोलाउन गएको आधा घण्टाभन्दा बढ्ता भइसक्यो, अझै पनि आएका छैनन् । लतमाया अलि हडबडाइन् । उनले पुननारानलाई पनि डाक्टरकहाँ पठाउन चाहिन् ।

किसानका छोरा भए पनि पुननारान आफ्नो पुग्दो खेत नभएको हुनाले सिकर्मीको काम गर्थे । पुननारानका ससुरा राम्रो सिकर्मी भएका हुनाले र पुन नारानको विशेष रोजगार पनि केही नभएको हुनाले उनका ससुराले उनलाई सिकर्मीको काम सिकाएका थिए ।

ससुरा छउन्जेल त पुननारानको काम कहिल्यै खाली हुँदैनथ्यो, किनभने उनका ससुरा सिकर्मी काममा नामी मानिन्थे । जहाँतहीँ बोलावट आइरहन्थ्यो तर ससुरा बितेदेखि पुननारानको रोजगारी अलि लडखडाउन थाल्यो । तैपनि हातमा सिप भएको हुनाले एकाध दिन हात बाँधेर बस्न परे पनि ज्यूँत्यूँ गुजारा चलिरहेकै थियो । तर यता दुई महिनादेखि बाबु बिरामी भएर पुननारान आफैँले पनि काम खोज्ने प्रयास कम गरेका हुनाले झन्डै बेरोजगारजस्ता भए पनि उनले एक जना साहुकहाँबाट आठ दिनको ज्याला पेस्की ल्याइसकेका थिए । आर्थिक सङ्कटका लागि उनले बाबुको त्यो अवस्था र बाबुबाट एकछिन पनि नअलग्गिएर काम गर्न जाने आँट गरी पेस्की ल्याएका थिए । तर पेस्की ल्याएको भोलिपल्टदेखि बाबुको व्यथा बढेर आइदियो । पेस्की ल्याएको पनि आठ दिन भइसक्यो ।