This page has not been proofread
३०
न ता देखें पर्दा दिवसरजनीको नगिचमा
न ता सन्ध्या, तारा, ग्रह न त धरा सिन्धुबिचमा ।
न भास्यो आकाशै, न फिर अवकाशै अलिकति
अहा कस्तो कस्तो अति अगम त्यो व्यापक चिति ॥
३१
म त्यो वेला फेरी गुरुचरण सम्झीकन झुकें
झुकें माने सृष्टिस्थितिनियम भन्दा पर लुकें ।
कसो भो ? के के भो ? फगत म थियें गद्गद अति
अहो मैले मेरै उस बखतको सम्झिनँ गति ॥
३२
खुशिसँग सब यस्तो शान्तिपीयूषवृष्टि
श्रुतियुगबिच गर्दै टप्प चिम्लेर दृष्टि ।
मुनिवर चुप लागे पूर्ण आनन्दसाथ
भुलन शकिनँ मैले भाग्यको त्यो प्रभात ॥