२४
बिपत्तैमा बग्दो, अति कठिन, बाङ्गो अतिथिको
अँध्यारो यो सारा गुणमय पसारो प्रकृतिको ।
उही नीलो कालो जलधिबिच पस्तोछ त्यसरी
तमासा यो कस्तो ? अझ नभरिने त्यो हरि हरि ॥
२५
कठै कस्ता कस्ता पुरुषहरु लाखौं चहकिला
नजान्नाले भित्री गहन तमको भेदनकला ।
जथाभावी खर्ची छवि सकल यै बाह्य पथमा
गये वा अस्ताये उस जलधिभित्रै मुफतमा ॥
२६
म त्यो सारा सम्झी फगत करुणाको वश परी
तँलाई क्यै भन्छू, मसित नरिसा है जुनकिरी ।
घुमिस्, खेलिस् नाचिस्, गगनबिच झिल्किस्, झिलिझिली
तँ आफैं सम्झी त्यो तर कति पलाको पिलिपिली ?
२७
म यस्तो भन्दैछू निमिषभरमा दर्दर गरी
हवा साथै वर्ष्यो जल मुशलधारेपन धरी ।
खतम् भैगो उस्को पिलिपिलिसँगै जीवनकला
गर्यो उस्ले मेरै शिरबिच कठै दीर्घ सुकला ॥
२८
यति भनि तपसीले सूक्तिनिस्यन्द थामे
करकमल उठाई आफनै माथ छामे ।
मनमन उनको त्यो सूक्तिमा भक्ति जाग्यो
हृदयगत अँध्यारो गर्वको भूत भाग्यो ॥
Page:Tarun tapasi.pdf/85
Appearance
This page has not been proofread
